User Login

Most Read News

लडाकूहरुको हतियार कन्टेनरको साँचो विशेष समितिलाई बुझाउने निर्णयको विरोध गर्दै उपाध्यक्ष मोहन

वैद्य किरण पक्षधरले शुक्रबार देशभर चक्काजाम गरे भने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैद्यको क्रियाकलाप पार्टि निर्णय विपरित भएको भन्दै त्यसबाट उत्तेजित नहुन माओवादी कार्यकर्ता र सेनालाई अपील गरे।

विवादका बीच सातवटै शिविरहरुमा कन्टेनर हस्तान्तरण गर्ने काम भने सकिएको छ।

साँचो बुझाउने निर्णय सम्बन्धी विवादले माओवादीभित्र भुसको आगोझैं सल्किएको भनिएको विवादलाई छताछुल्ल पारिदिएको छ।

डेढ महिना अगाडि ललितपुरको धोबीघाटमा भएको एउटा भेलामा अध्यक्षको विरुद्धमा तिनजनै उपाध्यक्ष र महासचिव समेतले मोर्चाबन्दी कसेपछि प्रचण्ड एकातिर अनि अरु अर्कोतिर देखिएका थिए।

तर विहिबारको निर्णयसंगै उक्त समीकरण गम्भीर संकटमा परेको छ।

प्रधानमन्त्री बनेका माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले अध्यक्षको साथ पाएको देखिएको छ भने महासचिव रामबहादुर थापाले वैद्य पक्षधरहरु सरह शुक्रबार बिहानको पार्टि स्थायी समितिको अनौपचारिक भनिएको बैठकमा भाग लिएननन्।

निर्णय नसच्चिए वैद्य पक्षधरहरु सरकारमै सहभागी नहुने मनस्थितिमा पुगेका छन्।

साँचो बुझाउने निर्णयलाई माओवादी सेना विघटन गराउनेसंग तुलना गर्दै विहिबार साँझ वैद्यले प्रेस विज्ञप्तिमात्र जारी गरेनन् पार्टिको निर्णय विरुद्ध बिहान देशभर एक घण्टा चक्काजाम समेत गरे।

शुक्रबार बिहान आकस्मिक रुपमा डाकिएको स्थायी समितिको बैठकमा वैद्य पक्षधर सदस्यहरु नगएपछि त्यो अनौपचारिक रुपमा मात्रै बसेको बताइयो।

तर त्यस बैठकपछि जारी गरेको विज्ञप्तिमा अध्यक्ष प्रचण्ड उनीहरुसंग आक्रोशित भएको बुझ्न सकिन्थ्यो।

“उपाध्यक्ष किरणले भाद्र १५ गते का दिन प्रेस विज्ञप्ति जारी गर्दै विशेष समितिको निर्णय पार्टीको निर्णय विपरित भन्दै सार्वजनिक रूपमा वक्तव्य प्रकाशित गरेको कुराले पार्टी स्तब्ध भएको छ,” विज्ञप्ति पढ्दै पार्टि प्रवक्ता दिनानाथ शर्माले भने।

वैद्य पक्षधरहरु आफ्नो अडानबाट टस को मस भएका छैनन्।

शनिबार बिहान डाकिएको स्थायी समितिको बैठकमा उपस्थित हुने तर अध्यक्षले भनेको नमाने उनीहरुले थप विरोध कार्यक्रम गर्ने जनाएका छन्।

वैद्य निकटका एकजना नेता तथा माओवादी सचिव सी पी गजुरेलले भने, “बैठकमा गएर हामी विषयवस्तु राख्छौं। त्यसपछि पनि निर्णय सच्चिएन भने देशैभर जनपरिचालनका कार्यक्रमहरु लिएर अघि बढ्छौं।”

तीव्र विवादका बीच देशभरका सातवटै शिविरहरुमा कन्टेनर हस्तान्तरण गर्ने प्रक्रिया भने सम्पन्न भएको छ। विहिबार केही शिविरमा बाँकी रहेको उक्त काम शुक्रबार सकिएको थियो।

तर माओवादीभित्रको उथलपुथलका कारण सेना समायोजनको काम भने झनै जटिल बन्न सक्ने कतिपय विश्लेषकहरुको राय छ।

Most Read News

Latest News


You are visitor No.
004060324

We have 2729 guests and 11 members online