सरकार बनेको एक हप्तासम्म प्रधानमन्त्री र गृहमन्त्री मात्र रहेको दुइ सदस्यीय मन्त्रीमण्डल आइतबार
विस्तार भएको छ।
माओवादीमा आन्तरिक किचलो कायमै रहेपनि अर्थ, परराष्ट्र लगायतका छ मन्त्रीले शपथ लिएका छन्।
सत्ता साझेदार तराइ केन्द्रित दलहरुको मोर्चाले गृह बाहेक रक्षा, सन्चार, बन, निर्माण तथा भौतिक योजना लगायतका महत्वपूर्ण मन्त्रालय हात पारेको छ।
माओवादीले अघिल्लो मन्त्रीपरिषदमा गृहमन्त्री रहेका नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री बनाएको छ। सैन्य विभाग इन्चार्ज वर्षमान पुनलाई अर्थ मन्त्री बनाइएको छ। माओवादीका तर्फबाट आज छ जना मन्त्री बनेपनि थप अरु भने असोज यता नथपिने देखिएको छ।
प्रधानमन्त्री निकट माओवादी केन्द्रीय सदस्य देवेन्द्र पौडेलले भने, "साँचो प्रकरणमा विमती राख्ने नेताहरु तत्काल सरकारमा नजाने भनेकाले थप मन्त्री केन्द्रीय समिति बैठक पछि मात्र निर्णय गरिनेछ।"
जारी शान्ति प्रक्रियाको सबभन्दा पेचिलो मुद्दाका रुपमा रहेको माओवादी लडाकुको व्यवस्थापनसँग सम्बन्धित रक्षा मन्त्रालय भने मोर्चाका शरदसिंह भण्डारीलाई गएको छ।
माओवादी संस्थापन पक्षले कन्टेनरको साँचो विशेष समितिलाई बुझाएकोमा रुष्ट बनेका मोहन बैद्य पक्षधरहरु सरकारमा सहभागी भएका छैनन्।
माओवादी नेतृत्वमा सरकार बने लगत्तै हतियार राखिएका कन्टेनरका साँचो विशेष समितिलाई बुझाइएकोमा वैद्य पक्षले कडा विरोध गर्दै आएको छ।
साँचो बुझाउन हुने र नहुने पक्षबीच कायम रहेको विवाद शनिबार र आइतबार बसेको पदाधिकारी बैठक र स्थायी समिति बैठकले टुंगो लगाउन नसकेपछि केन्द्रीय समिति बैठकमा लग्ने निर्णय माओवादीले गरेको छ।







