आफ्ना लडाकुका हतियारको कन्टेनरको साँचो बुझाउने माओवादीको निर्णयको आफ्नै दलको एक खेमाबाट
कडा विरोध भइरहँदा प्रधानमन्त्री बाबुराम भट्टराईले शान्ति प्रक्रियाबाट पछि नहट्ने बताएका छन्।
पूर्वी पहाडी जिल्ला सिन्धुलीमा आयोजित आफ्नो दलको एउटा कार्यक्रममा बोल्दै उनले शान्ति प्रक्रियाको बाटोबाट फर्किने स्थिति नरहेको जनाए।
“शान्ति प्रक्रिया अब अघि बढ्छ। त्यसबाट कोहीपनि, कुनैपनि हालतमा पछाडि हट्न सक्दैन। सरकारको नेतृत्वको हैसियतले त्यसको निम्ति मैले अन्तिम सम्म प्रयत्न गर्नेछु,” उनले भने।
प्रधानमन्त्री भट्टराईले सम्मानजनक सेना समायोजन र शान्ति प्रक्रियालाई सार्थक निश्कर्षमा पुर्याउने आफ्नो पहिलो कार्यभार रहेको जनाए।
“अब हामी कोहीपनि देशमा अर्को द्वन्द्व चाहँदैनौं।”
तीन महिनाभित्र कमसेकम संविधानको पहिलो मस्यौदा तयार पार्ने आफ्नो दोस्रो कार्यभार रहेको भट्टराईले बताए।
जनतालाई तत्काल राहत दिनु आफ्नो तेस्रो कार्यभार भएको उनले उल्लेख गरे।
“महंगी र बेरोजगारीबाट जनतालाई मुक्त गराउन हामी चाँडै राहत प्याकेज ल्याउनेछौं।”
प्रधानमन्त्री भट्टराईले आफ्नो सरकारले भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउने बताए।
“सत्तामा बस्नेहरुले जनताले तिरेको करको होली खेल्ने होइन। हाम्रो जीवनस्तर जनताको सरह हुनुपर्छ,” उनले भने।
आफुलाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका खेलेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष मोहन वैद्यले नेतृत्व गरेको असन्तुष्ट खेमाका वरिष्ठ नेता सी पी गजुरेलका साथ पुगेका प्रधानमन्त्री भट्टराईले आफ्नो दलको घर झगडाबारे चाहीं मुख खोलेनन्।








