चौतारा, ९ फाल्गुन/ भौतिक योजना तथा निर्माणमन्त्री हृदयश त्रिपाठीले मेलम्ची आयोजना सुरुङ निर्माणलाई तिब्रता दिन निर्देशन दिएका छन् ।
सिन्धुपाल्चोकको सिन्धु, ग्याल्थुम र अम्बाथान अर्डिटको सुरुङ निर्माणको अवस्थाबारे जानकारी लिएपछि उनले यस्तो निर्देशन दिएका हुन् । आयोजना निर्माणस्थल निरीक्षणका क्रममा मन्त्री त्रिपाठीले मेलम्चीका कर्मचारी र परामर्शदाताले चिनियाँ ठेकेदारलाई हतोत्साही नबनाई सुरुङ निर्माणमा सघाउन आग्रह गरे । निर्माण सुरु भएको ४ वर्षमा सुरुङ निर्माण पूरा गर्ने सम्झौतावमोजिम चाइना रेलवे कम्पनी १५ ब्यूरोले सन् २००९ अपि्रल २१ मा मेलम्ची साइड जिम्मा लिएको थियो ।
कम्पनीले जिम्मेवारी पाएको तीन वर्ष पुग्न लाग्दा ३ हजार ७ सय मिटरमात्र सुरुङ बनेको छ । यही गतिले १ वर्षमा १ किलोमिटरमात्र निर्माण हुने अवस्था देखेपछि आयोजना मुख्यदाता एसियाली विकास वैंक (एडीबी) ले असन्तुष्टि जनाउँदै आएको छ । मुख्य सुरुङको लम्बाई २६ दशमलव २१ किलोमिटर छ । मेलम्चीमा आयोजित आयोजनाको कार्यक्रममा प्रगति सुनेपछि मन्त्री त्रिपाठीले राजधानीवासीले छिटोभन्दा छिटो पानी खान पाउनुपर्ने भन्दै कामप्रति असन्तुष्टि जनाएका हुन् । उनले परामर्शदातालाई ठेकेदार कम्पनीलाई असजिलो बनाउनेभन्दा सहज वातावरण तयार गराउन निर्देशन दिएका थिए । ठेकेदारले परामर्शदाताबाट आफूहरुलाई अपेक्षाअनुसारको सहयोग प्राप्त हुन नसकेको गुनासो गर्दै आएका छन् । आयोजना कार्यकारी निर्देशक कृष्णप्रसाद आचार्यले स्थानीय समस्या नभएको र चिनियाँ ठेकेदारबाट काममा ढिलाइ भएको जानकारी गराएका थिए । मन्त्री त्रिपाठीले स्थानीय बाहुनेपाटी स्थित क्याम्पमा चिनियाँ ठेकेदारसँग छलफल गरेको थिए ।








